१४ महिनादेखि तलबविहीन भएपछि सिमेन्ट उद्योगका श्रमिक सडकमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १४:३४

उदयपुर । कुनै समय ‘गैँडा छाप’ ब्रान्डका कारण देशभर चिनिने उदयपुर सिमेन्ट उद्योग अहिले गम्भीर आर्थिक संकटको चपेटामा परेको छ । उद्योग निरन्तर अवरुद्ध जस्तै अवस्थामा पुगेपछि १४ महिनादेखि तलब नपाएका श्रमिक तथा कर्मचारीहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालन हुँदै आएको उद्योगको अवस्थाबारे पछिल्ला दिनमा असन्तुष्टि तीव्र बनेको छ । नियमित उत्पादन ठप्पजस्तै भएपछि श्रमिकहरूको जीवनयापन संकटमा परेको भन्दै उनीहरूले तत्काल बक्यौता तलब भुक्तानी र सामाजिक सुरक्षा कोषको रकम निकासा गर्न सरकारसँग माग गरेका छन् ।

Advertisement

शुक्रबार उद्योग परिसरको मुख्य गेटमै आयोजित पत्रकार सम्मेलनमार्फत मजदुर संघर्ष समितिले आफ्ना पीडा सार्वजनिक गर्दै उद्योग व्यवस्थापन, सम्बन्धित मन्त्रालय र सरकारी निकायहरूको उदासीनताप्रति कडा आपत्ति जनाएको छ । समितिका अनुसार १४ महिनासम्म तलब नपाउँदा श्रमिकहरू दैनिक खर्च धान्न, ऋण तिर्न, स्वास्थ्य उपचार गर्न र छोराछोरीको पढाइ खर्च जुटाउन समेत असमर्थ भएका छन् ।

श्रमिकहरूले उद्योगले तलबबाटै कट्टा गरेको सञ्चय कोष, नागरिक लगानी कोष तथा बीमा रकमसमेत लामो समयदेखि सम्बन्धित निकायमा नपठाइएको गम्भीर आरोप लगाएका छन् । उनीहरूका अनुसार करिब ४५ महिनाको सञ्चय कोष रकम र ३५ महिनाको नागरिक लगानी कोष रकम हालसम्म जम्मा नभएको दाबी गरिएको छ । साथै, बीमा प्रिमियमका तीन किस्ता समेत भुक्तानी नहुँदा सामाजिक सुरक्षा प्रणाली नै कमजोर बनेको उनीहरूको भनाइ छ ।

आर्थिक संकटको असरले स्वास्थ्य उपचार गर्न नसकेका कारण केही श्रमिकहरू गम्भीर रोगको उपचारबाट वञ्चित भएको र हालसम्म ८ जना कर्मचारी तथा मजदुरको मृत्यु भइसकेको दाबी संघर्ष समितिले गरेको छ । त्यस्तै, २०७८ साल यता अनिवार्य अवकाशमा गएका १३२ जना कर्मचारी तथा मजदुरले पाउनुपर्ने सेवा–सुविधा पनि अझै उपलब्ध नगरिएको समितिको भनाइ छ ।

अवकाश प्राप्त श्रमिकहरूले लामो समयदेखि पाउनुपर्ने रकम नपाउँदा आर्थिक रूपमा ठूलो कठिनाइ भोग्नुपरेको उनीहरूको गुनासो छ । उद्योगमा कार्यरत सुरक्षा गार्ड तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको पनि लामो समयदेखि पारिश्रमिक नपाइएको समितिले जनाएको छ । उनीहरूका अनुसार साना कामदार वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । जसले दैनिक जीवन चलाउन समेत समस्या झेलिरहेका छन् ।

मजदुर संघर्ष समितिले पटकपटक उद्योग व्यवस्थापन र सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएको आरोप लगाएको छ । श्रमिकहरूले सरकारले पूर्ण स्वामित्वमा सञ्चालन गरेको उद्योगमा यस्तो अवस्था आउनु अत्यन्त चिन्ताजनक भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको मागपत्रमा १४ महिनाको तलब, ज्याला तत्काल भुक्तानी, सञ्चय कोष र नागरिक लगानी कोषको बक्यौता रकम निकासा, बीमा प्रिमियम चुक्ता, अवकाशप्राप्त कर्मचारीको सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराउनुपर्ने स्पष्ट माग राखिएको छ । श्रमिकहरूले सरकारसँग तत्काल हस्तक्षेपको माग गर्दै ‘हाम्रो श्रमको मूल्य देऊ’ भन्ने नारासहित आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् ।

माग पूरा नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरिने समेत उनीहरूले बताएका छन् । उदयपुर सिमेन्ट उद्योगको वर्तमान अवस्था आर्थिक संकटको मात्र नभई व्यवस्थापन र सरकारी निगरानीको कमजोरीले उपन्न भएको बताइएको छ । लामो समयदेखि ठप्पजस्तै उत्पादन, बक्यौता तलब र असुरक्षित भविष्यले उद्योगका सयौं श्रमिकहरूको जीवन अनिश्चित बनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.