
बाजुरा । बाजुरा–हुम्ला सीमा विवादका कारण अवरुद्ध बनेको कर्णाली कोरिडोर पुनः सञ्चालनमा आएको छ । बाजुराको हिमाली गाउँपालिका–३ र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ अन्तर्गत लामपाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा जेठ २ देखि ४ गतेसम्म विवाद उत्पन्न भएको थियो ।
प्रहरी चौकी स्थापनालाई लिएर खार्पुनाथ गाउँपालिका–२ का राय र थाली गाउँका स्थानीयले विरोध जनाउँदै निर्माण कार्यमा अवरोध गरेका थिए । सो क्रममा भएको झडपमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३ का वडा सदस्यसहित पाँच जना घाइते भएका थिए ।
घटनापछि हिमाली युवा क्लबले बुधबारदेखि धुलाचौरमा कर्णाली कोरिडोर अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो । सडक अवरुद्ध भएपछि स्थानीय आवागमन प्रभावित भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा शुक्रबार भएको सर्वपक्षीय छलफलबाट सडक खुलाउने सहमति भएको हो । छलफलपछि ६ बुँदे सहमति गरिएको छ ।
सहमतिमा घटनाको छानबिन गर्ने, लुटिएको व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति फिर्ता गराउने, घाइतेको उपचार सुनिश्चित गर्ने र विस्थापित भएका लामपाटाका स्थानीयको सुरक्षाको प्रत्याभूति गराउने लगायतका विषय समेटिएका छन् । सहमतिपछि कर्णाली कोरिडोर पुनः सञ्चालनमा आएको छ ।



















