
काठमाडौं । दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्याम केन्द्रमा फसेका ६८७ जना नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरेर स्वदेश फर्काइएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमावर्ती क्षेत्रमा सञ्चालित यस्ता ठगी नेटवर्कबाट नेपाली नागरिकहरूलाई लगातार उद्धार गर्ने कार्य भइरहेको छ । ६१६ जनालाई पहिले नै उद्धार गरिएकोमा पछिल्लो दुई सातामा थप ७१ जनालाई सुरक्षित रूपमा स्वदेश फर्काइएको हो ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै ५६२ जना कम्बोडियाबाट रहेका थिए । त्यसैगरी म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जना नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता क्षेत्रीका अनुसार विभिन्न देशमा अझै पनि ठूलो संख्यामा नेपाली फसेको आशंका गरिएको छ । उनीहरूको पहिचान तथा उद्धार प्रक्रिया निरन्तर जारी रहेको उनले बताए । बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले हालसम्म १०२ नेपालीको जरिबाना मिनाहा गरिसकेको छ भने थप १७२ जनाको जरिबाना मिनाहा गर्न कूटनीतिक प्रयास भइरहेको छ ।
त्यस्तै, संगठित अपराध र मानव तस्करीसम्बन्धी मुद्दामा थुनामा रहेका नेपालीहरूको रिहाइका लागि पनि सम्बन्धित मुलुकसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । म्यानमारमा थुनामा रहेका १८ जना नेपालीको कैद मिनाहा र आवश्यक सहयोगका लागि समेत पहल जारी रहेको बताइएको छ ।

























