
एजेन्सी । युरोपेली संघ (इयू)ले इरानविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी अघि बढाएको छ । हर्मुज जलमार्ग अवरुद्ध गर्ने निर्णयमा संलग्न इरानी अधिकारी तथा सम्बन्धित संस्था लक्षित गर्दै नयाँ प्रतिबन्धात्मक कदम चाल्ने तयारी इयूले गरेको हो ।
अमेरिका र इजरायलले गत फेब्रुअरीमा इरानमाथि संयुक्त आक्रमण गरेपछि तेहरानले विश्वव्यापी तेल तथा ग्यास ढुवानीको महत्वपूर्ण मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको थियो । उक्त कदमपछि अन्तर्राष्ट्रिय बजारमा ऊर्जा आपूर्तिमा दबाब सिर्जना भएको थियो भने कच्चा तेलको मूल्य समेत बढेको थियो ।
इयू सदस्य राष्ट्रहरूले हर्मुज मार्गमा गरिएको नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भएको निष्कर्ष निकाल्दै इरानमाथि लागू भइरहेका प्रतिबन्धको दायरा विस्तार गर्ने प्रक्रियालाई अगाडि बढाएका हुन् । यसका लागि प्राविधिक तथा कानुनी तयारी सुरु गरिएको बताइएको छ ।
युरोपेली परिषद्ले जारी गरेको वक्तव्यमा हर्मुज जलमार्गमा नौवहनको स्वतन्त्रतालाई कमजोर पार्ने इरानको कदमप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । परिषद्ले इयूले अब थप प्रतिबन्धात्मक उपाय लागू गर्न सक्ने स्पष्ट संकेत दिएको छ ।
यसअघि पनि इयूले इरानमाथि विभिन्न कारण देखाउँदै प्रतिबन्ध लगाउँदै आएको थियो । युक्रेन युद्धमा रुसलाई इरानले सैन्य सहयोग उपलब्ध गराएको आरोप, मध्यपूर्वका सशस्त्र समूहहरूसँगको सम्बन्ध तथा मानवअधिकार उल्लंघनका घटनालाई आधार बनाएर ब्रसेल्सले पटकपटक दण्डात्मक कदम चालेको थियो ।
नयाँ प्रतिबन्ध अन्तर्गत को–को पर्छन् भन्ने विषयमा भने इयूले तत्काल कुनै नाम सार्वजनिक गरेको छैन । तर, प्रतिबन्ध सूचीमा परेका व्यक्ति वा संस्थामाथि युरोप भ्रमणमा रोक, सम्पत्ति फ्रिज तथा आर्थिक कारोबारमा प्रतिबन्ध लगाइने जनाइएको छ ।
त्यस्तै, इयू सदस्य राष्ट्रका नागरिक र कम्पनीलाई पनि प्रतिबन्ध सूचीमा रहेका व्यक्ति वा संस्थासँग कुनै प्रकारको आर्थिक कारोबार नगर्न निर्देशन दिइने भएको छ । उनीहरूलाई कोष, वित्तीय सम्पत्ति वा अन्य आर्थिक स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था लागू गरिने बताइएको छ ।
हर्मुज जलमार्ग विश्व ऊर्जा व्यापारको अत्यन्त संवेदनशील मार्ग मानिन्छ । विश्वभर आपूर्ति हुने कुल तेल तथा ग्यासको ठूलो हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने भएकाले त्यहाँ उत्पन्न तनावले विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने विश्लेषण भइरहेको छ ।
इरान र पश्चिमी मुलुकबीच बढ्दो टकरावका कारण मध्यपूर्वमा अस्थिरता थप चर्किने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढ्दै गएको छ । ऊर्जा बजारमा देखिएको अस्थिरताले आगामी दिनमा विश्वव्यापी मुद्रास्फीति र आपूर्ति प्रणालीमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।



















