ट्रम्पमाथि इरान युद्ध रोक्ने दबाब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ०७:२२

एजेन्सी । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ ।

मतदानमा चार जना रिपब्लिकन सांसदले समेत डेमोक्रेटिक सांसदलाई साथ दिएपछि प्रस्ताव बहुमतले पारित भएको हो । अब यो प्रस्ताव कानुन बन्न प्रतिनिधिसभाबाट पनि अनुमोदन हुनुपर्नेछ । त्यसपछि राष्ट्रपतिले भिटो प्रयोग गर्न सक्नेछन् । भिटो भएमा त्यसलाई उल्ट्याउन दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्छ, जुन अहिले कठिन मानिएको छ ।

Advertisement

प्रस्ताव कानुन बनेमा इरानविरुद्ध युद्ध वा लामो सैन्य कारबाही अघि बढाउन ट्रम्प प्रशासनले अमेरिकी संसदको अनुमति लिनुपर्ने बाध्यता आउनेछ । प्रस्ताव ल्याउने सिनेटर टिम केनले युद्ध सुरु गर्ने अधिकार संसदसँग हुनुपर्ने भन्दै ट्रम्पले आफ्नो रणनीति स्पष्ट गर्नुपर्ने बताएका छन् । अमेरिकी कानुनअनुसार कुनै पनि राष्ट्रपतिले संसदको अनुमति बिना ६० दिनभन्दा बढी सैन्य कारबाही सञ्चालन गर्न पाउँदैनन् ।

यसबीच ट्रम्पले इरानमाथि ठूलो आक्रमण गर्ने तयारी भए पनि हाललाई रोकिएको बताएका छन् । कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सले तनाव नबढाउन आग्रह गरेको उनको भनाइ छ ।

उता इरानले हर्मुज जलडमरूमध्य हुँदै जाने जहाजका लागि अनुमति अनिवार्य गर्ने नयाँ निकाय गठन गरेको जनाएको छ । साथै, इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युरेनियम संवर्धन आफ्नो अधिकार भएको भन्दै कुनै दबाबमा नझुक्ने बताएका छन् ।

त्यस्तै, इरानी संसदमा ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या गर्ने व्यक्तिलाई ठूलो रकम इनाम दिने प्रस्ताव ल्याउने तयारी भइरहेको दाबी पनि सार्वजनिक भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.