
एजेन्सी । अमेरिकाले आफूमाथि आक्रमण गरे नयाँ तरिका र नयाँ हतियार प्रयोग गरेर उपयुक्त रणनीतिसहित जवाफ दिने चेतावनी इरानले दिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले कुनै पनि देशको प्रभाव वा दबाबमा आएर सैन्य कारबाही गरिए त्यसको कडा प्रतिकार गरिने स्पष्ट पारेको हो । इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायलको प्रभावमा परेर इरानविरुद्ध कुनै नयाँ कदम चालिए त्यसको जवाफ नयाँ उपकरण र नयाँ रणनीतिका साथ दिइने बताएका छन् । इरानले आफ्नो सुरक्षाका विषयमा कुनै पनि सम्झौता नगर्ने उनले उल्लेख गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौताको सम्भावना जीवित राख्न चाहेको भन्दै तत्काल सैन्य आक्रमण नगर्ने संकेत दिएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिपछि मध्यपूर्वमा बढ्दो तनाव केही कम हुने अपेक्षा गरिएको थियो ।
तर, इरानको पछिल्लो चेतावनीपछि क्षेत्रीय सुरक्षा अवस्थाबारे फेरि चिन्ता बढेको छ । इरानी सेनाले सम्भावित कुनै पनि सैन्य कारबाहीको जवाफ पहिलेभन्दा अझ व्यापक र फरक शैलीमा दिन सकिने दाबी गरेको छ ।



















