एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार ०७:२३

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (शनिबार) पनि बस्दैछ । पार्टीभित्र पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक कमजोरी र नेतृत्वको भूमिकामाथि केन्द्रित बहस तीव्र बनेपछि बैठक दोस्रो दिनसम्म लम्बिएको हो ।

बैठक बिहान ११ः३० बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने तय भएको छ । शुक्रबार सुरु भएको बैठकमा शीर्ष नेताहरूबीच लामो र खुला बहस भएको थियो । बैठकमा सहभागी नेताहरूका अनुसार पार्टीको वर्तमान अवस्था, जनतामाझ घट्दो प्रभाव, संगठनको निष्क्रियतालगायतका विषयमा गम्भीर समीक्षा गरिएको छ ।

Advertisement

शुक्रबारको बैठकमा अध्यक्ष ओलीलाई राजीनामाका लागि दबाबसमेत दिइएको छ । शुक्रबारको बैठकमा पाँच उपाध्यक्षहरूले धारणा राखेका थिए । उपाध्यक्षहरू पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, गोकर्ण बिष्ट र रघुजी पन्तले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेतृत्व हस्तान्तरणको विषय उठाएका थिए। उनीहरूले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्न नयाँ पुस्ता र नयाँ कार्यशैली आवश्यक रहेको धारणा राखेको स्रोतले जनाएको छ । यद्यपि, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भने नेतृत्व परिवर्तनको मागमा साथ नदिएको बताइएको छ ।

बैठकमा नेताहरूले पछिल्लो समय पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि, संगठन विस्तारमा आएको सुस्तता र सरकार सञ्चालनसँग जोडिएका आलोचनाबारे पनि धारणा राखेका थिए । केही नेताहरूले जनतासँग पार्टीको सम्बन्ध कमजोर बन्दै गएको भन्दै त्यसलाई सुधार गर्न ठोस योजना आवश्यक रहेको बताएका थिए ।

उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा भइरहेको छ । उनले अझै १२ जना नेताले धारणा राख्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार छलफल लम्बिनुको कारण नेताहरूले खुलेर आफ्ना विचार राख्नु हो ।

बैठकमा नेताहरूको कार्य विभाजन, संगठन हेरफेर र जिम्मेवारी पुनःनिर्धारणको विषयले भने शुक्रबार प्रवेश पाउन सकेन । मुख्य रूपमा राजनीतिक समीक्षा र आगामी रणनीतिमै समय खर्चिएको नेताहरूले बताएका छन् । शनिबारको बैठकमा संगठनात्मक जिम्मेवारी बाँडफाँट र पार्टी सञ्चालनको विषयले पनि प्रवेश पाउने सम्भावना रहेको छ ।

एमालेभित्र पछिल्लो समय नेतृत्व पुस्तान्तरणको बहस क्रमशः चर्किँदै गएको छ । विशेषगरी दोस्रो तहका नेताहरूले पार्टीलाई आगामी चुनावमा प्रतिस्पर्धी बनाउन संगठन पुनर्संरचना र नेतृत्व शैलीमा परिवर्तन आवश्यक रहेको बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने‘भदौ २४ को घटनामा सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
कोशीका राज्यमन्त्री सवार गाडीलाई विराटनगरमा भ्यानले दियो ठक्कर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.