
गोरखा – यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो।
बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भीरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिए। प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए।
‘आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए। प्रकाश अघिअघि हिँडेका रहेछन्,’ वडासदस्य गुरुङले भने, ‘तर, साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो।’

























