
पाँचथर । पाँचथरमा लगातारको वर्षासँगै आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका–१ मा पहिरोले घर बगाउँदा चार परिवार विस्थापित भएका छन् । दर्जनौँ घर उच्च जोखिममा परेका छन् ।
बाढीले सडक पुल, झेलुंगे पुल, खानेपानी आयोजना, सिँचाइ योजना र जलविद्युत् आयोजनामा समेत व्यापक क्षति पुर्याएको छ । याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास, कविर खवास र कोप्चेका गंगाप्रसाद बेघाको घर पहिरोले बगाएपछि उनीहरू परिवारसहित विस्थापित भएका छन् ।
मोहनलाल र कविरको सात सदस्यीय परिवार आफन्त शान्ता खवासको घरमा आश्रय लिएर बसेका छन् भने गंगाप्रसादको ६ सदस्यीय परिवार दाजु दुर्गा बेघाको घरमा बसिरहेको छ । त्यस्तै, सोही क्षेत्रका भगीमान बेघाको घर पनि पहिरोको उच्च जोखिममा परेपछि उनका परिवारका ६ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
बाढीपहिरोका कारण कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल र मगरडाँडा क्षेत्रका दर्जनौँ घर जोखिममा परेका छन् । स्थानीय त्रासमा रात बिताउन बाध्य भएका छन् ।
बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुंगे पुलमा क्षति पुर्याएको छ भने याङवरक–२ दोभानेस्थित अर्को झोलुंगे पुलसमेत प्रभावित भएको छ । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत दोभानेमा मेवा खोलामाथि निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको छ । पुलसँगै सडक र डाइभर्सनसमेत बगेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तमोर कोरिडोर सडकअन्तर्गत हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ । याक्थुङहाङ निर्माण सेवा प्रा.लिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन र फलामे पाइपलगायत सामग्री बाढीले बगाएको छ ।
पहिरो झरेपछि मध्यपहाडी राजमार्गको ओयाम बजार–रिजाल भिर खण्ड पूर्ण रूपमा बन्द भएको छ । बाढीपहिरोले जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ ।
याङवरक–२ मेवाखोलामा रहेको हरिहृदय मेवाखोला जलविद्युत् आयोजना प्रभावित भएको छ भने पाँचथर–ताप्लेजुङ सीमास्थित इवाखोला जलविद्युत् आयोजनाको बाँधका पर्खालमा क्षति पुगेको छ । काबेली खोला क्षेत्रमा रहेको अरुण–काबेली जलविद्युत् आयोजनासमेत प्रभावित बनेको छ ।
यस्तै, याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पस्दा ठूलो क्षति पुगेको छ । बाढीपहिरोले टीकारामे, डल्लेढुंगा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची–पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।



















