सातै प्रदेशमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार ०६:३१

काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज (आइतबार) सातै प्रदेशमा मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा दिनभर सामान्यदेखि आंशिक बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लाग्ने पूर्वानुमान गरिएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ ।

Advertisement

मधेश प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा अलि बढी तातो महसुस हुनेछ भने तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने महाशाखाले जनाएको छ ।

राति पनि कोशीसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूस्भागका थोरै स्थानमा तथा लुम्बिनी र कर्णालीका केही क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ ।

महाशाखाले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा तातो लहरको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.