
विराटनगर । बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण गर्न र युवापुस्तामा जनचेतना फैलाउन जिल्ला प्रहरी कार्यालय मोरङले नौलो पहल सुरु गरेको छ । ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ अन्तर्गत प्रहरीले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।
मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले आइतबार अभियानकाे उद्घाटनका क्रममा प्रतियोगिताको बारेमा जानकारी दिए । सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै युवाहरूलाई लागुऔषध विरुद्धको अभियानमा सक्रिय बनाउन यो प्रतियोगिता प्रभावकारी हुने उनले बताए ।
के छ प्रतियोगिताको नियम ?
प्रतियोगितामा सहभागी हुन चाहने टिकटक प्रयोगकर्ताले ‘बढ्दो लागुऔषध विरुद्ध एकजुट हौँ’ भन्ने मूल सन्देशमा आधारित रहेर जनचेतनामूलक भिडियो तयार गर्नुपर्नेछ । प्रतियोगिता जेठ १० गतेबाट खुल्ला गरिएको छ र इच्छुक सहभागीले जेठ मसान्तसम्म भिडियो बनाएर प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ, दोस्रो पुरस्कार ४० हजार रुपैयाँ, तेस्रो पुरस्कार ३० हजार रुपैयाँ, चौथो पुरस्कार २० हजार रुपैयाँ र पाँचौँ पुरस्कार १० हजार रुपैयाँ राखेकाे छ ।
अभियानलाई थप प्रभावकारी बनाउन र युवापुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यो प्रतियोगिता सबैका लागि खुल्ला गरिएको उनले बताए ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले आफूले तयार पारेको भिडियो जिल्ला प्रहरी कार्यालय मोरङको आधिकारिक सम्पर्क माध्यम वा प्रहरीले तोकेको प्लेटफर्ममा पठाउनुपर्नेछ ।



















