
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका सबै सरोकारवाला पक्षले संयमता अपनाउँदै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले घटनापछि उत्पन्न अवस्थालाई थप जटिल बन्न नदिन सबै पक्ष जिम्मेवार ढंगले प्रस्तुत हुने सहमति गरेको हो । बैठकले गृहमन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई निष्पक्ष अनुसन्धानका लागि आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ ।
प्रजिअ घिमिरेका अनुसार घटनाको वास्तविकता बाहिर ल्याउन छानबिन प्रक्रियामा सबै पक्षले सहयोग गर्ने र स्थानीय स्तरमा शान्ति तथा सामाजिक सद्भाव कायम राख्न साझा प्रयास गरिनेछ । बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
सहभागीहरूले स्थानीय क्षेत्रमा शान्ति–सुरक्षाको अव्स्था मजबुत बनाउन सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने, अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहने तथा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधि हुन नदिने विषयमा समेत सहमति जनाएका छन् ।
कप्तानगन्जमा आइतबार राति बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर सुरु भएको सामान्य विवाद पछि दुई समुदायबीच हिंसात्मक झडपमा परिणत भएको थियो । झडपका क्रममा दुवै पक्षबाट ढुंगा, लाठी, चिर्पट र भालासहित आक्रमण हुनुका साथै सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको थियो ।
घटनामा इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राईसहित नेपाल प्रहरीका आठ र सशस्त्र प्रहरीका पाँच जना घाइते भएका छन् । अवस्था नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ । प्रहरीका अनुसार गोली लागेर नौ जना सर्वसाधारण पनि घाइते भएका छन् ।
यसैबीच, गृहमन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सोमबार पाँच सदस्यीय समिति गठन गरिसकेको छ । समितिले घटनाको कारण, सुरक्षा व्यवस्थाको अवस्था तथा गोली चलाउनुपरेको परिस्थितिसहित समग्र विषयमा छानबिन गरेर प्रतिवेदन तयार गर्नेछ ।

























