कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १८:०४

विराटनगर । सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा आइतबार राति भएको साम्प्रदायिक झडप र सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनापछि सरकारले कोशी प्रदेश र सुनसरीको सुरक्षा तथा प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गरेको छ ।

घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई पठाएको छ ।

Advertisement

यस्तै, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ । घिमिरे केही दिनयता बिदामा थिए । उनी बिदामा बसेकै बेला सुनसरीमा घटना भएको हो । उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने निर्णय गरिएको छ ।

सुनसरीका प्रहरी प्रमुख (एसपी) केशवकुमार थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको ठाउँमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा प्रधान कार्यालयबाट डीएसपी मदन नाथलाई खटाइएको छ ।

आइतबार राति बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत हुँदा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर २२ जनाभन्दा बढी घाइतेत भएका थिए ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । घटनापछि देवानगन्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्युसमेत जारी गरिएको छ ।

यस घटनासँगै सुनसरीको सुरक्षा व्यवस्थापनमा देखिएको नेतृत्वको अभाव पनि चर्चाको विषय बनेको छ । घटना हुँदा सशस्त्र प्रहरीको जिल्ला कमान्ड दुई सातादेखि रिक्त रहेको, नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी बिदामा रहेको तथा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी पनि बिदामा रहेकाले सुरक्षा संयन्त्र निमित्त अधिकारीको भरमा सञ्चालन भइरहेको अवस्था थियो ।

गृहमन्त्रीको निर्देशनपछि गत असार ३० गते सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका गणपति एसपी श्यामकुमार कार्कीलाई मुख्यालय तानिए पनि उनको स्थानमा नयाँ गणपति खटाइएको थिएन । सुरक्षा स्रोतका अनुसार कार्यकाल सकिएका गणपतिहरूको सरुवा रोकिँदा सीमावर्ती जिल्लाहरूको फिल्ड कमान्ड प्रभावित बनिरहेको छ ।

यसमा गृह मन्त्रालयको कमजोरी देखिएको छ । मन्त्रालयले आफ्नो कमजोरी ढाकछोप गर्न र लुकाउन सुरक्षा प्रमुखहरुलाई जिम्मेवारीबाट हटाएको देखिन्छ । सुरक्षा विश्लेषकहरूका अनुसार भारतसँग खुला सीमा जोडिएको सुनसरीजस्तो संवेदनशील जिल्लामा नियमित सुरक्षा नेतृत्वको अभावले संकट व्यवस्थापन, सूचना विश्लेषण, अतिरिक्त सुरक्षा परिचालन, स्थानीय प्रशासनसँग समन्वय र भिड नियन्त्रणजस्ता कार्यमा प्रत्यक्ष असर पार्छ ।

प्रभावकारी कमान्ड सक्रिय भएको भए विवादलाई समयमै नियन्त्रणमा ल्याउन सकिने सम्भावना रहेको उनीहरूको भनाइ छ । पूर्वडीएसपी रामजी कटवालका अनुसार कप्तानगन्ज घटनाले गोली चलाउने निर्णयको मात्र नभएर सुरक्षा नेतृत्व, कमान्ड संरचना, समन्वय र गृह प्रशासनको निर्णय प्रक्रियाको समेत समीक्षा आवश्यक रहेको सन्देश दिएको छ । उनका अनुसार सुरक्षाका हिसाबले संवेदनशील मानिएको स्थानमा नेतृत्व रिक्त हुनु सामान्य प्रशासनिक विषय नभई शान्ति सुरक्षा र संकट व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको विषय हो ।

घटनापछि अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै स्थानीय तह, समुदायका अगुवा र सरोकारवालासँग समन्वय गरेर अवस्था सामान्य बनाउने प्रयास जारी रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
मोरङमा बालिकामाथि सामूहिक करणी, ५ जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×