जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड

Share this
660shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ श्रावण ११, सोमबार १५:५३

इनरुवा । सुनसरीको सुरक्षा अवस्था अत्यन्त जटिल र संवेदनशील बन्दै गएको छ । कर्फ्यु आदेश जारी रहेकै बेला विभिन्न स्थानमा आक्रमण, प्रत्याक्रमण, आगजनी, तोडफोड, कुटपिट र प्रदर्शनका घटना एकपछि अर्को गर्दै भइरहेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिए पनि सुरक्षाकर्मीको उपस्थिति कमजोर रहेका गाउँबस्तीमा दुई पक्षबीच आक्रमण र प्रत्याक्रमण भइरहेकाले सर्वसाधारण त्रसित बनेका छन् । आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका थिए । सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगन्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । तर, कर्फ्यु लागू भए पनि बिहान करिब १० बजेदेखि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।

कप्तानगञ्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै तोडफोड र आगजनीमा उत्रिएका थिए । पसलहरूमा आक्रमण हुन थालेपछि स्थानीयमा त्रास फैलिएको थियो भने सर्वसाधारण ज्यान जोगाउन भागदौड गर्न बाध्य भएका थिए ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला सुरक्षा समितिबाट आकस्मिक निर्णय गरेर नेपाली सेना परिचालन गरिएको थियो । बख्तरबन्द गाडीसहित हतियारधारी सैनिक टोली फिल्डमा खटिएपछि मुख्य भिड केही मत्थर भए पनि विभिन्न समूह गाउँबस्तीमा छिरेर आक्रमण, तोडफोड र आगजनी गर्न थालेको स्थानीयले बताएका छन् । एउटा समूहले आक्रमण गरेपछि अर्को समूहले पनि धारिलो हतियारसहित कुटपिट र प्रत्याक्रमण गरिरहेको अवस्था छ ।

सोमबार दिउँसो करिब १२ः३० बजेतिर देवानगन्ज गाउँपालिका–२ गाउँपालिका कार्यालय अगाडि करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको डेढतले पक्की घर, सोही घरमा सञ्चालनमा रहेको हार्डवेयर पसल तथा घर अगाडि पार्किङ गरी राखिएको को २ त ५८५२ नम्बरको ट्र्याक्टरमा आगजनी गरेको प्रहरीले जनाएको छ । उक्त घटनाबाट करिब ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।

त्यसैगरी, अबाफ अन्सारीको टिनले छाएको कच्ची घर र घरभित्र रहेका दुईवटा मोटरसाइकलमा आगजनी गरिँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । अपास अन्सारीको टिनले छाएको कच्ची घर तथा एउटा मोटरसाइकल जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दिउँसो १ः२० बजेतिर देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जस्थित परालको दुईवटा टालीमा आगजनी भएपछि भिड नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा १० सेल अश्रुग्यास प्रहार गरेका थिए । त्यसपछि भिड तितरबितर भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

त्यसअघि १२ः४० बजेतिर इनरुवा नगरपालिका–४ मा बजार बन्द गराउँदै हिँडेको ५०–६० जनाको समूहले बजाज शो–रुमका चारवटा झ्यालका सिसा तथा होर्डिङ बोर्ड फुटाएको थियो । त्यसको केहीबेरमै इनरुवा नगरपालिका–३ अदालत रोडमा अज्ञात नम्बरको म्याजिक गाडीको अगाडिको सिसा पनि फुटाइएको थियो ।

सुनसरी सदरमुकाम इनरुवामा प्रहरी बिटमा समेत तोडफोड गरिएको छ । यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही र फूलचोकमा टायर बालेर प्रदर्शन गरिँदा सवारीसाधन सञ्चालन प्रभावित भएको छ । राजमार्गमा सवारी रोकिँदा यात्रुहरू अलपत्र परेका छन् । सुरक्षाकर्मीले सम्झाइबुझाइ गर्दै यातायात सञ्चालन गराउने प्रयास गरे पनि अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन ।

हिंसात्मक घटनाकै क्रममा देवानगन्ज गाउँपालिका–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार गरिएको छ । बजारबाट घर फर्किने क्रममा एक समूहले उनलाई नियन्त्रणमा लिएर धारिलो हतियारले टाउकोमा प्रहार गरेको परिवारले जनाएको छ । उनको दाहिने हातको पञ्जामा पनि गम्भीर चोट लागेको छ भने शरीरभरि निलडाम देखिएको छ । उनलाई दिउँसो १ः३० बजेतिर विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बिहानदेखि कर्फ्यु उल्लंघन गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको र त्यसपछि नेपाली सेना परिचालन गरिएको बताए । उनका अनुसार समस्या देखिएका स्थानमा तत्काल सुरक्षाकर्मी पठाउने काम भइरहेको छ ।

उनले अवस्था थप बिग्रिए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा कारबाही अघि बढाउने चेतावनी दिए । परिस्थिति नियन्त्रणभन्दा बाहिर गए थप गोली चलाउनुपर्ने अवस्था आउन सक्ने भन्दै उनले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । प्रजिअ घिमिरेले उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट पार्दै सेनासहितको संयुक्त सुरक्षा टोलीले अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने बताए ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट थप नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू पनि सुनसरी पठाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगञ्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा उपस्थितिलाई थप सुदृढ बनाउँदै अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए ।

घटनापछि जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रमुख जिल्ला अधिकारी घिमिरेको अध्यक्षतामा सर्वपक्षीय बैठक पनि बसेको थियो । बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाले घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्ने, सामाजिक सद्भाव कायम राख्ने, अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहने तथा शान्ति–सुरक्षा कायम गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

यद्यपि, बैठकमा सबै पक्षले संयमता अपनाउने प्रतिबद्धता जनाए पनि बाहिरको अवस्था अझै सामान्य बन्न सकेको छैन । सुरक्षाकर्मीको उपस्थिति कमजोर भएका क्षेत्रमा दुई पक्षबीच आक्रमण र प्रत्याक्रमण जारी रहेकाले सर्वसाधारण त्रसित बनेका छन् ।

जथाभावी आक्रमण, आगजनी, आतंक र तोडफोडका घटना हुन थालेपछि सुनसरीको सुरक्षा व्यवस्था अति नै जटिल, संवेदनशील एवं असामान्य बनेर गएको छ । जथाभावी आक्रमण, आगजनी, तोडफोड र कुटपिटका घटनाले सुनसरीको सुरक्षा व्यवस्था गम्भीर रूपमा खस्किएको देखिएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्था अहिले अत्यन्त संवेदनशील र चुनौतीपूर्ण बनेको सुरक्षा विश्लेषण छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×