विषाक्त खानाले एक परिवारका ४ जना बिरामी 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १६:११
विषाक्त खानाले एक परिवारका ४ जना बिरामी  तस्बिरः एआई

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाएका एउटै परिवारका ४ जना बिरामी परेका छन् । शनिबार साँझको खाना खाएपछि बिरामी परेकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

बिरामी पर्नेहरूमा २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरू १४ वर्षीया यशोदा तथा ९ वर्षीया यासिका बुढाथोकी रहेका छन् । छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएपछि रातिदेखि नै उनीहरूमा बान्ता हुने र बेहोस हुने जस्ता लक्षण देखिएको थियो ।

Advertisement

अवस्था जटिल बन्दै गएपछि छिमेकी र आफन्तको सहयोगमा उनीहरूलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो । अस्पतालका अनुसार उपचारपछि ५ वर्षीय योगेश, १४ वर्षीया यशोदा र ९ वर्षीया यासिकाको स्वास्थ्यमा सुधार आएकाले उनीहरू डिस्चार्ज भई घर फर्किसकेका छन् ।

तर, २३ वर्षीया हेमा बुढाथोकीको स्वास्थ्य अवस्था भने अझै चिन्ताजनक रहेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । उनलाई थप उपचारका लागि विराटनगर पठाइएको अस्पतालले जनाएको छ ।

हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन् । घरमा हेमा आफ्ना छोरा र दुई नन्दसँग बस्दै आएकी थिइन् । बजारबाट ल्याएको दालमा केही खराबी थियो वा अन्य कुनै कारणले खाना विषाक्त भयो भन्नेबारे खुलेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.