
काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भागनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण आज (मंगबलार) देशभर मौसम प्रभावित रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको हो । हाल गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम आंशिकदेखि सामान्यतया सफा रहेको जनाइएको छ । गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका केही स्थानमा अहिले नै चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि बादल लाग्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै, मधेश प्रदेशसहित ती प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था रहने सम्भावना औंल्याइएको छ । मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी समेत दिइएको छ ।
मंगलबार राति पनि मौसम पूर्ण रूपमा नखुल्ने महाशाखाको अनुमान छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा जारी रहने सम्भावना रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भाग र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।



















