
उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ गिद्वबरमा सोमबार बिहान स्कुल बसबाट लडेर सहचालकको मृत्यु भएको छ ।
सौगात एकेडेमी बोर्डिङ स्कुलको लु प्र ०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन बेलसोततर्फ जाँदै गर्दा सहचालक कटारी–२ खोक्साका ३१ वर्षीय उत्तम थापा अचानक बसबाट लडेका थिए । कच्ची सडकमा गुडिरहेको बसबाट लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते थापालाई उपचारका लागि कटारी अस्पताल लगिएकोमा बिहान ९ः५५ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् । बस र चालक ४८ वर्षीय छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना स्थल ट्राफिक प्रहरी पोष्ट बेलस्रोतबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ। सहचालक बसमा चढ्ने क्रममा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।



















