
काठमाडौं । जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्ले–बर्खेखोला सडक खण्डको पुनर्निर्माण कार्य सुरु गरिएको छ ।
नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका छन् । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किलोमिटर सडक पुनर्निर्माण भइरहेको हो ।
२०८१ असोज १२ गतेको बाढी र पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रे र सिन्धुली क्षेत्रमा करिब ३० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । पिप्ले–बर्खेखोला सडक निर्माण परियोजनाका लागि जापान सरकारले दुई अर्ब ८० करोड येन अनुदान उपलब्ध गराउने सहमति २०८२ कात्तिक १३ गते भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि अहिले निर्माण कार्य औपचारिक रूपमा अघि बढाइएको हो ।
यसअघि जाइका टोलीले निर्माणपूर्व तयारी स्वरूप क्याम्प स्थापना, अस्थायी सडक निर्माण लगायतका काम सम्पन्न गरिसकेको छ । हाल बीपी राजमार्गका क्षतिग्रस्त सडक खण्डमध्ये चार स्थानमा पुनर्निर्माण कार्य सञ्चालनमा रहेको छ ।



















