
काठमाडौं । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलासुस्ती गर्ने रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड कालो सूचीमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयले रमण-पटेल जेभीसहित ११ कम्पनीलाई कालोसूचीमा राखेको छ ।
जनकपुर-९ धनुषा ठेगाना भएको रमण कन्स्ट्रक्सनले भारतको पटेल इन्जिनियरिङ लिमिटेडसँग मिलेर सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि ठेक्का पाएको थियो ।
काममा ढिलासुस्ती गरेकाले गत वर्ष कात्तिक २५ गते आयोजनाले ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले तीन वर्षका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउँदैनन् ।
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि रमण-पटेल जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले माघ २०७९ बाट काम सुरु गरेको थियो । असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ ।

























