मोरङमा हुलाकमार्फत घर–घरमै राहदानी, प्रशासन धाउनुपर्ने बाध्यता हट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार १८:०२
घरमै पुगेर सेवाग्राहीलाई राहदानी प्रदान गर्दै हुलाक निर्देशनालय विराटनगरका कर्मचारी नवराज अधिकारी ।

विराटनगर । मोरङमा अब राहदानी (पासपोर्ट) लिन जिल्ला प्रशासन कार्यालय धाइरहनुपर्ने झन्झट अन्त्य हुन थालेको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यसहित सुरु गरेको ‘घरमै राहदानी’ सेवाअन्तर्गत मोरङमा पनि बुधबारदेखि हुलाकमार्फत सेवाग्राहीको घर–घरमै राहदानी पुर्याउन थालिएको हो ।

हुलाक निर्देशनालय विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय गरेर यो सेवा सुरु गरेको छ । सेवाग्राहीले राहदानी बनेपछि फेरि प्रशासन कार्यालय पुगेर लाइन बस्नुपर्ने, गाडीभाडा खर्च गर्नुपर्ने र समय खेर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न हुलाकमार्फत वितरण प्रणाली लागू गरिएको निर्देशनालयले जनाएको छ ।

Advertisement

हुलाक निर्देशनालय विराटनगरका निमित्त प्रमुख विष्णुबहादुर बुढाथोकीका अनुसार राहदानीका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राहीलाई आवश्यक सहजीकरण गर्न प्रशासनमै हुलाकका कर्मचारी खटाइएको छ । यसका लागि हलकारा निराजन निरौलालाई जिल्ला प्रशासन कार्यालयमा जिम्मेवारी दिइएको उनले बताए ।

जिल्ला वा इलाका प्रशासन कार्यालयमा पुगेका सेवाग्राहीले राहदानी आवेदन प्रक्रिया पूरा गरेपछि राहदानी आफैं आएर बुझ्ने कि हुलाकमार्फत घरमै लिन चाहने भन्ने विकल्प पाउँछन् । घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले आफ्नो पूरा ठेगाना, मोबाइल नम्बर र सम्पर्क विवरण उल्लेख गरिएको खाममा ५५ रुपैयाँ बराबरको हुलाक टिकट टाँसेर हुलाकका कर्मचारीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

बुढाथोकीका अनुसार सेवाग्राहीले बुझाएको त्यही खाममा पछि बनेर आएको राहदानी सुरक्षित रूपमा राखेर सम्बन्धित व्यक्तिको घरमै पुर्याइन्छ । राहदानी तयार भएपछि प्रशासन कार्यालयले त्यसलाई ‘एक्टिभ’ गरेर हुलाक कार्यालयलाई उपलब्ध गराउँछ । त्यसपछि हुलाकका कर्मचारीले सम्बन्धित ठेगानामा पुगेर सेवाग्राहीकै जिम्मा लगाउने व्यवस्था गरिएको बुढाथोकीले बताए ।

उनका अनुसार हुलाक निर्देशनालयसहित विभिन्न हुलाक कार्यालयमार्फत राहदानी वितरणको काम सुरु भएको छ । सेवा सुरु भएको पहिलो दिन बुधबार मात्रै मोरङमा हुलाकमार्फत वितरण गर्न १९ वटा राहदानी प्राप्त भएको निर्देशनालयले जनाएको छ । तीमध्ये केही राहदानी वितरण भइसकेका छन् भने बाँकी वितरण प्रक्रियामा रहेका छन् ।

‘हुलाकले राहदानी प्राप्त गरेपछि बढीमा सात दिनभित्र सेवाग्राहीको घरसम्म पुर्याउने लक्ष्य राखिएको छ,’ बुढाथोकीले भने, ‘यसले नागरिकलाई सरकारी सेवामा पहुँच सहज बनाएको छ ।’ नेपाल सरकारले शासकीय सुधारका लागि ल्याएको १०० बुँदे कार्यक्रमअन्तर्गत २७ नम्बर बुँदामा ‘घरमै राहदानी उपलब्ध गराउने’ नीति समावेश गरेको थियो । सोही नीतिअनुसार देशका विभिन्न जिल्लासँगै मोरङमा पनि सेवा कार्यान्वयनमा ल्याइएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री, सहज र नागरिकको घरदैलोमै पुर्याउने सरकारको योजनाअनुसार काम सुरु गरिएको बताए । उनका अनुसार राहदानी लिन प्रशासन कार्यालयमा पटक–पटक पुग्नुपर्ने बाध्यता हट्दा नागरिकको समय र खर्च दुवै बचत हुनेछ ।

‘अब राहदानी लिन दिनभर लाइन बस्नुपर्ने, बारम्बार कार्यालय धाउनुपर्ने र अनावश्यक खर्च व्यहोर्नुपर्ने अवस्था क्रमशः हट्दै जान्छ,’ प्रजिअ कटेलले भने, ‘हुलाकमार्फत घरमै सेवा पुर्याउने प्रणालीलाई निरन्तरता दिइनेछ ।’ विशेषगरी वैदेशिक रोजगारी, अध्ययन र भ्रमणका लागि राहदानी बनाउने युवायुवती तथा सर्वसाधारणलाई यो सेवा निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

सेवाग्राहीले राहदानी लिन विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय धाउनुपर्ने झन्झटबाट पनि राहत पाउने भएका छन् । यसले विशेष गरेर ग्रामीण क्षेत्रका सेवाग्राही सबैभन्दा बढी लाभान्वित हुनेछन् ।

घरमै राहदानी प्राप्त गर्न थालेपछि सेवाग्राहीले पनि खुसी व्यक्त गरेका छन् । यसअघि राहदानी लिन प्रशासन वा इलाका प्रशासन कार्यालय पुग्दा एक दिन पूरा खर्चिनुपर्ने, यातायात खर्च व्यहोर्नुपर्ने र भिडभाडका कारण हैरानी खेप्नुपर्ने अवस्था थियो । अहिले भने घरमै राहदानी आइपुग्न थालेपछि सरकारी सेवाप्रति नागरिकको विश्वाससमेत बढेको विराटनगरका बालकृष्ण दाहालले बताए ।

हुलाक सेवामार्फत सुरु गरिएको यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा भविष्यमा अन्य सरकारी कागजात र सेवासमेत नागरिकको घरदैलोमै पुर्याउने आधार तयार हुने अपेक्षा गरिएको छ । यसले परम्परागत सरकारी सेवा प्रणालीलाई आधुनिक, सहज र नागरिककेन्द्रित बनाउने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.