कस्ताे छ माैसम ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार ०६:२२
६ प्रदेशमा वर्षाको सम्भावना 

काठमाडौं । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुनेछ ।

तराईका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

Advertisement

बिहीबार सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ भने नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ । अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि तापक्रम नपुगेको विभागले उल्लेख गरेको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने जनाइएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हुरी चल्ने सम्भावना छ । आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.