
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानवले पहिलो पटक सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा आज (शुक्रबार) अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाइँदैछ ।
सन् १९५३ मे २९ मा नेपाली पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेर विश्व इतिहासमा नयाँ अध्याय थपेका थिए । उनीहरूको साहस, दृढता र सफलताले मानव क्षमताको अनुपम उदाहरण प्रस्तुत गरेको थियो ।
सोही ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप प्रत्येक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने गरिन्छ । सगरमाथा नेपालका लागि हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय पहिचानको प्रतीक बनेको छ ।
पर्यटन विभागका अनुसार हालसम्म आठ हजारभन्दा बढी व्यक्तिले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमै अवस्थित छन् । हिमालहरुले नेपाललाई पर्वतीय पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गरेका छन् ।
यस अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित आरोहण र वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम आयोजना गरेका छन् । जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्दै जाने तथा वातावरणीय असर देखिन थालेकाले हिमाल संरक्षणमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना तथा विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ । हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन् । सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन ठूलो योगदान पुर्याएको विश्वास गरिन्छ ।
यसै अवसरमा नेपाल पर्वतारोहण संघले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण र स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको जनाएको छ ।

























