
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनअपेक्षा पूरा गर्न राजनीतिक नेतृत्वको व्यवहार, निष्ठा र शासकीय स्वरूपमा सुधार अपरिहार्य रहेको बताएका छन् ।
गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक उपलब्धिलाई नागरिकको दैनिक जीवनसँग जोड्न नसकिए परिवर्तनको औचित्य कमजोर हुने धारणा राखे । राष्ट्रपति पौडेलले केवल राजनीतिक व्यवस्था परिवर्तन हुँदैमा जनताको अपेक्षा पूरा नहुने उल्लेख गर्दै राजनीतिक दल र नेतृत्व अझ जिम्मेवार, सिर्जनशील र जनउत्तरदायी बन्नुपर्ने बताए ।
उनले राज्यसत्ताको चरित्र र शासन पद्धतिमा आमूल सुधार आवश्यक रहेको पनि स्पष्ट पारे । वर्तमान सरकार बलियो जनादेशसहित गठन भएको उल्लेख गर्दै उनले सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अघि बढाएकोमा सन्तोष व्यक्त गरे ।
शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयन र आर्थिक क्षेत्रसँग सम्बन्धित कानुनी तथा संरचनागत सुधारले नागरिकमा नयाँ आशा जगाउने विश्वास उनले व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको अधिकतम विकासका लागि उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए ।
आर्थिक विकासलाई नागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोड्न सके मात्रै गणतन्त्रको उद्देश्य सार्थक हुने उनको भनाइ थियो । उनले गणतन्त्रले नागरिकलाई आफ्नो भाषा, धर्म, संस्कृति र भूमिमाथिको स्वामित्वको अनुभूति दिलाएको उल्लेख गर्दै यसलाई राष्ट्र निर्माणको महत्वपूर्ण प्रेरणाका रूपमा लिनुपर्ने बताए ।

























