फूलले सजियो शंकरबेली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार ०६:२८

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ स्थित शंकरबेली सिमसार एवं इको टुरिजम पार्क यतिबेला ढकमक्क फुलेका फूलले सजिएको छ । मनमोहक देखिने शंकरबेली पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यसमेत बनेको छ ।

सिमसार वरिपरि सेता, हल्का गुलाबी तथा विभिन्न रङका फूल फुलेपछि दैनिक ठूलो संख्यामा मानिस घुम्न, फोटो खिच्न र भिडियो बनाउन पुग्न थालेका छन् । विशेषगरी सामाजिक सञ्जाल टिकटक र फेसबुकमा शंकरबेलीको दृश्य भाइरल हुन थालेपछि युवापुस्ताको आकर्षण अझ बढेको स्थानीयले बताएका छन् ।

Advertisement

बिहानैदेखि साँझसम्म सिमसार क्षेत्रमा घुम्न आउनेको भिड लाग्ने गरेको शंकरबेली सिमसार उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिए । मोरङको बेलबारीबाट साथीहरूसँग घुम्न आएकी सरिता श्रेष्ठले सामाजिक सञ्जालमा देखेपछि यहाँ पुग्ने इच्छा जागेको बताइन् ।

उनका अनुसार पोखरी वरिपरि फुलेका फूल, हरियाली वातावरण र शान्त प्राकृतिक दृश्यले सिमसार क्षेत्र निकै मनमोहक बनेको छ । ‘यहाँ आएपछि भिडियो र फोटो खिच्न छुट्टै रमाइलो अनुभव भयो,’ उनले भनिन् ।

यतिबेला शिरिष, पिंक सावरट्री अर्थात् गुलाबी वर्षा रुख तथा गुलाबी क्यासियालगायतका फूल फुलेपछि शंकरबेली सिमसार अझ आकर्षक बनेको छ । वैशाख अन्त्यदेखि फूल फुल्न सुरु भएसँगै पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको समितिको भनाइ छ ।

करिब १३ वर्षअघि स्थापना गरिएको शंकरबेली क्षेत्रलाई स्थानीय उपभोक्ता समितिले संरक्षण, सरसफाइ र व्यवस्थापन गर्दै आएको छ । कोशी प्रदेश सरकार र स्थानीय तहको सहयोगमा पूर्वाधार विस्तार गरिएपछि अहिले यो स्थान वनभोज र घुमफिरका लागि लोकप्रिय बनेको छ ।

समितिका अनुसार अहिले सामान्य दिनमा दैनिक दुई हजारदेखि तीन हजारसम्म पर्यटक आउने गरेका छन् । शनिबार तथा सार्वजनिक बिदाका दिन भने पाँच हजारदेखि सात हजारसम्म मानिस पुग्ने गरेको व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईले बताए ।

सिमसार क्षेत्रमा एकैपटक करिब ११० टोलीले वनभोज गर्न सक्ने क्षमता रहेको छ । वनभोज टोलीबाट ३ सय रूपैयाँदेखि एक हजार रूपैयाँसम्म शुल्क लिने गरिएको छ भने घुम्न आउनेका लागि २० रूपैयाँको टिकट शुल्क तोकिएको छ । सोही रकमबाट संरक्षण, सरसफाइ र व्यवस्थापनको काम हुँदै आएको समितिले जनाएको छ ।

करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत विभिन्न पूर्वाधार निर्माण गरिएको छ । साना कटेज, बाल उद्यान, पुल, करिब ३०० मिटर ग्राभेल सडक तथा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।

सिमसारभित्र रहेको पोखरीमा बोटिङको सुविधा पनि सञ्चालनमा छ । पोखरीको बीच भागमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ संरचनाले पर्यटकको ध्यान थप तानेको छ । उक्त संरचना रामधुनी नगरपालिकाको सहयोगमा निर्माण गरिएको हो ।

धरान, इटहरी, विराटनगर, झापा, उदयपुरलगायत विभिन्न जिल्लाबाट मात्र नभएर भारतबाट समेत पर्यटक आउने गरेका छन् । सिमसारभित्र खरले छाएका टहरासमेत निर्माण गरिएकाले यहाँको प्राकृतिक सौन्दर्य अझ आकर्षक बनेको स्थानीयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.