
काठमाडौं । देशभर आज (शनिबार) मौसम बदली भई सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय रेखाको प्रभावका कारण मौसम प्रभावित बनेको हो । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ ।
केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।
शनिबार दिउँसो देशका पहाडी र तराईका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ ।
राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।



















