साँघुरो सडकमा ट्रक दुर्घटना हुँदा चालक गम्भीर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार ०६:४४

इलाम । इलाम नगरपालिका–११ राकसे घोर्ले भिरस्थित केचना–कञ्चनजंघा भित्री सडकखण्डमा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

गोलिया लोड गरेर इलामबाट झापातर्फ जाँदै गरेको मे १ ख २२६७ नम्बरको ट्रक राति करिब ८ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक झापाको बिर्तामोड घर भएका ५६ वर्षीय कमल आचार्यको टाउको, आँखा, ढाड र खुट्टामा गम्भीर चोट लागेको छ ।

Advertisement

प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उनलाई उपचारका लागि झापाको बी एन्ड सी अस्पताल पठाइएको छ । प्रहरीले उनको अवस्था गम्भीर रहेको जनाएको छ ।

ट्रकमा सवार सहचालक इलामको देउमाई नगरपालिका–३ शान्तिडाँडाका २३ वर्षीय लक्ष्मण राउत पनि घाइते भएका छन् । जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि बी एन्ड सी अस्पताल रेफर गरिएको छ ।

दुर्घटनामा ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । साँघुरो सडकका कारण ट्रक दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.