
विराटनगर । मोरङको उर्लाबारीमा च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । बिरामीमा पर्नेमा दुई जना बालक रहेका छन् ।
उर्लाबारी नगरपालिका–४ आइतबारेका ३६ वर्षीय भूमिराज उराउ, उनकी पत्नी ३२ वर्षीया रामकुमारी उराउ तथा छोराहरु १४ वर्षीय अर्विन उराउ र ८ वर्षीय अरुण उराउ बिरामी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उराउ परिवारले आइतबार बिहान आफ्नै बारीमो परालमा उम्रिएको सेतो रंगको च्याउको तरकारी खाएको पत्ता लागेको छ ।
बिरामी परेकामध्ये ८ वर्षीय अरुणको अवस्था गम्भीर रहेको छ । अरुको अवस्था सामान्य छ । बिरामी परेका सबै जनाको उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनाका बारेमा थप बुझ्ने काम गरिरहेको छ । प्रहरीले जथाभावी उम्रिएका च्याउको तरकारी नखान सबैमा आग्रह गरेको छ ।



















