नेपालले पनि भारतको जमिन मिचेको छ : प्रधानमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १४:०५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतले नेपालको मात्रै नभएर नेपालले पनि भारतको जमिन मिचेको बताएका छन् । सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले अनौठो विषय सार्वजनिक गरेका हुन् ।

विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिएका थिए । त्यस क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतबाट सीमा मिचिएको विषयलाई लिएर सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारतको जमिन नेपालले पनि मिचेको दाबी गरेका हुन् ।

Advertisement

‘भारतले नेपालको मात्रै नभएर नेपालले पनि भारतको जमिन मिचेको रहेछ । यो दुवै देशबीच आपससी समझदारीमा दाजुभाइको जस्तो सम्बन्ध बनाएर समस्या समाधान गर्नुपर्ने अवस्था छ,’ उनले भने । तर, प्रधानमन्त्री शाहले नेपालले भारतको जमिन कहाँ–कहाँ मिचेको छ भनेर केही पनि बताएनन् ।

त्यसअघि, प्रधानमन्त्री शाहले विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनका बारेमा प्रश्न राखेका थिए । जवाफ दिने क्रममा शाहले भने, ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ ।’

मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन, र्‍याली र त्यसमाथि भएका दमन लगायतका धेरै प्रतिवेदनहरू सार्वजनिक गर्न बाँकी रहेको उनले स्मरण गराए । प्रधानमन्त्री शाहले विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.