
इलाम । इलामको सूर्योदय नगरपालिका–४ मा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी आइतबार अपरान्ह दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी आइतबार मध्यान्न करिब १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडाका ४५ वर्षीय विलास राईलाई उपचारका लागि फिक्कल अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा दिउँसो १ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा सहचालक सूर्योदय–४ श्रीबुङका २० वर्षीय कुन्दन वाईबा र ४३ वर्षीय विशाल थुलुङ राई घाइते भएका छन् । घाइतेमध्ये कुन्दनको श्रीनिधि अस्पताल फिक्कलमा र विशालको झापाको बिर्तामोडस्थित बिर्तासीटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

























