विराटनगर र बुढीगंगामा विद्युत अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार ११:१४

विराटनगर । दुहबी ग्रिडदेखि टंकी सबस्टेशनसम्म आएको ३३ केभी प्रसारण लाइनमा प्राविधिक समस्या (फल्ट) देखिएपछि टंकी सबस्टेशनबाट सञ्चालित सम्पूर्ण विद्युत् सेवा अवरुद्ध बनेको छ ।

विशेष गरेर विराटनगर र बूढीगंगामा विद्युत अवरुद्ध बनेको हो । प्रसारण लाइनमा समस्या आएपछि विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका धेरै क्षेत्रमा सोमबार बिहान साढे ४ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

Advertisement

विद्युत् प्राधिकरणका अनुसार प्राविधिक टोलीले समस्या पहिचान तथा समाधानका लागि लाइन पेट्रोलिङको काम तीव्र रूपमा अघि बढाइरहेको छ । फल्ट भएको स्थान पत्ता लगाएर मर्मत कार्य गर्ने प्रयास जारी रहेको जनाइएको छ ।

प्रसारण लाइनमा आएको समस्याका कारण टंकी सबस्टेशन अन्तर्गतका सबै फिडर प्रभावित भएका छन् । विद्युत् आपूर्ति पुनः सुचारु हुने समय यकिन भइनसके पनि मध्यान्हसम्म सेवा सुचारु गर्ने लक्ष्यसहित काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले समस्या समाधान हुनासाथ विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने जानकारी दिएको छ । साथै, प्रभावित क्षेत्रका उपभोक्तालाई आधिकारिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.