
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थानमा वर्षा हुनेछ, केही भूभागमा गर्मी हुनेछ ।
वर्षा कम भएसँगै तराईका केही स्थानमा तातो दिन हुने सम्भावना छ ।
विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।
विभागले दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने पूर्वानुमान छ ।
विभागका अनुसार राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेल मनसुन भित्रने समय अझै अनिश्चित रहेको बताउँछन् । पश्चिमी वायु कमजोर रहेकाले केही दिन देशका धेरै स्थानमा वर्षा नहुने उनको भनाइ छ ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो । तर, यो औसत मिति भएकाले यो भन्दाअगाडि वा पछाडि पनि मनसुन भित्रिने सम्भावना रहन्छ ।



















