
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक र भूराजनीतिक बहसबाट बाहिर निकालेर विकास, लगानी, प्रविधि, ऊर्जा र आर्थिक सहकार्यमा केन्द्रित गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत नेपाल–भारत सम्बन्धको नयाँ ढाँचा प्रस्तुत गरेका हुन् । ‘आकांक्षी नेपाल र उदीयमान भारतले सम्बन्धलाई कसरी पुनः जोड्न सक्छन् ?’ शीर्षकको लेखमा उनले दुई देशबीचको सम्बन्धलाई विगतका विवादभन्दा साझा समृद्धिको आधारमा अघि बढाउनुपर्ने बताएका छन् ।
लामिछानेले कूटनीतिक सम्बन्धलाई राजनीतिक संवादमा सीमित नराखी व्यापार, लगानी, ऊर्जा, पर्यटन र डिजिटल अर्थतन्त्रसँग जोड्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार दुवै देशका दूतावास र कूटनीतिक संयन्त्रलाई राजनीतिक सम्पर्क केन्द्रभन्दा आर्थिक सहकार्यको ‘इन्जिन’का रूपमा रूपान्तरण गर्न आवश्यक छ ।
भारत भ्रमणका क्रममा उनले आज (मंगलबार) भारतीय जनता पार्टी (भाजपा)का उच्च नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । भेटमा दुई देशबीचको लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान र आपसी सम्बन्ध विस्तारका विषयमा छलफल हुने बताइएको छ ।
लेखमार्फत लामिछानेले नेपाल–भारत सहकार्यका लागि आठ प्रमुख प्रस्ताव सार्वजनिक गरेका छन् । सीमा विवाद समाधानका विषयमा उनले दुवै देशबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
सीमा लगायतका विषयलाई लामो समयसम्म अल्झाएर राख्नु दुवै देशका लागि हितकर नहुने उल्लेख गर्दै उनले अतिराष्ट्रवादी भाषणभन्दा संवाद र ऐतिहासिक तथ्यका आधारमा समाधान खोज्नुपर्ने बताएका छन् । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाल–भारत सीमालाई ‘अवरोध होइन, पुल’ बनाउने अवधारणा प्रस्तुत गरेको स्मरण समेत गरेका छन् ।
लामिछानेले रक्सौल–काठमाडौं रेलमार्गलाई नेपाल–भारत सम्बन्धको सबैभन्दा महत्वपूर्ण आर्थिक परियोजनाका रूपमा चित्रित गरेका छन् । भारतले तीव्र गतिमा रेल पूर्वाधार विस्तार गरिरहेको उल्लेख गर्दै उनले १५० किलोमिटरभन्दा कम दूरीको उक्त रेलमार्ग सम्पन्न भए व्यापार, पर्यटन र ढुवानी क्षेत्रमा ठूलो परिवर्तन आउने दाबी गरेका छन् । नेपालले सीमा जोड्ने मात्रै नभएर रेलमार्फत सम्पूर्ण अर्थतन्त्र जोड्ने लक्ष्य राखेको उनको भनाइ छ ।
त्यसैगरी उनले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय सहरमा सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यसबाट पर्यटन, धार्मिक भ्रमण र आर्थिक गतिविधि विस्तार हुने उनको विश्वास छ ।
सूचना प्रविधि क्षेत्रलाई सहकार्यको अर्को सम्भावित आधारका रूपमा प्रस्तुत गर्दै लामिछानेले ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माणको अवधारणा अघि सारेका छन् । डिजिटल भुक्तानी प्रणाली, फिनटेक र सीमापार डिजिटल प्लेटफर्ममार्फत नेपाल र भारतका साना उद्यमीलाई जोड्न सकिने उनले उल्लेख गरेका छन् ।
उनले भारतका आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन सेन्टर र प्रविधि हब स्थापना गर्न आह्वान गरेका छन् । नेपालको युवा जनशक्ति, स्वच्छ ऊर्जा र डिजिटल पूर्वाधारलाई भारतीय प्रविधि पारिस्थितिकीसँग जोड्न सकिने उनको तर्क छ ।
लामिछानेले नेपालमा भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाको विस्तारको प्रस्ताव समेत गरेका छन् । उनले नेपालमै आईआईटी र एम्सस्तरका संस्थाहरू स्थापना गर्न सकिने धारणा राख्दै त्यसले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने बताएका छन् ।
कृषि र उद्योग क्षेत्रलाई जोड्ने गरी उनले नेपाल–भारत सीमाक्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न सकिने प्रस्ताव पनि अघि सारेका छन् । भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिन सकिने उल्लेख गर्दै उनले यस्तो सहकार्यले कृषि उत्पादन, आपूर्ति प्रणाली र आर्थिक गतिविधिलाई सुदृढ बनाउने बताएका छन् ।
ऊर्जा क्षेत्रतर्फ उनले नेपालको जलविद्युत् सम्भावनालाई भारतका औद्योगिक करिडोरसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका छन् । सीमापार ऊर्जा व्यापारलाई खण्डित मोडेलमा नभई एकीकृत ऊर्जा बजारका रूपमा विकास गर्नुपर्ने उनको प्रस्ताव छ । उनले आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी), सहज ट्रान्जिट प्रणाली र व्यापारिक अवरोध हटाउन पनि जोड दिएका छन् ।
खेलकुद क्षेत्रलाई समेत उनले नेपाल–भारत सहकार्यको सम्भावित माध्यमका रूपमा प्रस्तुत गरेका छन् । हालै इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनल हेरेको उल्लेख गर्दै उनले भविष्यमा नेपाली खेलाडी मात्र नभई नेपाली रंगशालासमेत आईपीएल फ्रेन्चाइज संरचनासँग जोडिन सक्ने सम्भावनाबारे सोच्नुपर्ने बताएका छन् ।
लेखको अन्त्यतिर लामिछानेले नेपालमा पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’को संज्ञा दिएका छन् । उनले रास्वपाको उदयलाई पुरानो राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीति खोजिरहेको दाबी गरेका छन् ।

























