
झापा । झापाको दमक नगरपालिका–८ बसन्त टोलकी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या गरेको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाइए पनि प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक र रोमा केही समयदेखि सम्पर्कमा थिए ।
ती युवकलाई लागुऔषधको कुलतबाट मुक्त गराउने उद्देश्यले एक सुधार केन्द्रमा राखिएको थियो । परिवारका अनुसार उनी जेठ १३ गते सुधार केन्द्रबाट बाहिरिएलगत्तै रमासँग सम्पर्कमा आएका थिए । त्यसपछि दुवैबीच भेट भएको केही समयपछि रोमा मृत अवस्थामा फेला परेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोबाइल सम्पर्क विवरण, घटनास्थल आसपासका प्रमाण तथा पक्राउ परेका युवकसँग सम्बन्धित अन्य पक्षमाथि गहिरो अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घटनाको वास्तविकता नजिक पुगिसकिएको छ । केही दिनभित्रै विस्तृत विवरण सार्वजनिक गर्ने तयारी छ ।
यद्यपि, हत्या कसरी भयो, शव रतुवा खोलासम्म कसरी पुर्याइयो तथा घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन । अनुसन्धान पूरा भएपछि मात्रै घटनाको सम्पूर्ण तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
यो पनि पढौं
दमकमा बोरामा पोको पारिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुल्यो

























