
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा दिएको विवादित अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा तीव्र राजनीतिक तरंग उत्पन्न भएको छ ।
प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रिय स्वाभिमान, कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्रीले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिपछि संसदमा दलहरू आक्रामक बनेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको भनाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे । उनले प्रधानमन्त्रीले संसदमा बोलेको विषय व्यक्तिगत अभिव्यक्ति नभई राष्ट्रिय मुद्दासँग जोडिएको विषय भएकाले त्यसलाई हल्का रूपमा लिन नमिल्ने बताए ।
दुलालले प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याउँदै भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहज्यूले नेपालले भारतको सीमा मिचेको छ भनेर बोल्नुभएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो ? यो सम्मानित सदनमार्फत नेपाली जनतालाई स्पष्ट जानकारी दिनुपर्छ ।’ उनले प्रधानमन्त्रीको अभिव्यक्ति संवेदनशील र गम्भीर प्रकृतिको भएकाले उच्चस्तरीय राजनीतिक छलफलमार्फत निकास निकाल्न सभामुखसँग आग्रह गरे ।
साथै, प्रधानमन्त्रीलाई आफ्नो गल्ती सच्याउन रुलिङ गर्न पनि माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको बचाउमा उत्रिएका सांसदहरूप्रति कटाक्ष गर्दै व्यक्ति पूजा र नेता केन्द्रित राजनीतिले राष्ट्रहित कमजोर पार्ने चेतावनी दिइन् ।
उनले प्रतिनिधिसभामा बोल्दै हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछोड्ने अडान लिनेहरू अहिले आफ्नै नेताको बचाउ गर्न देशकै दाबी कमजोर बनाउने प्रमाण खोज्दै हिँडिरहेको आरोप लगाइन् । ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय भएको बताउँदै प्रधानमन्त्री कुनै व्यक्ति मात्र नभई राज्यको संस्था भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीको हैसियतबाट आएको फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढाउँछ । यसलाई सामान्य विषय भनेर टार्न मिल्दैन । संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वतासहित अभिव्यक्ति दिनुपर्छ ।’ उनले केही नेताका समर्थकहरूले आफ्ना नेताको बचाउ गर्न राष्ट्रकै दाबी कमजोर बनाउने शैली अपनाइरहेको आरोप लगाउँदै यस्तो प्रवृत्ति राष्ट्रवाद नभएको स्पष्ट पारिन् ।
‘देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन् । तर, नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो देशकै पक्ष कमजोर बनाउने काम राष्ट्रवाद होइन,’ उनले भनिन् । ओलीले नेता पूजा र व्यक्ति पूजा गर्ने संस्कार लोकतान्त्रिक प्रणालीका लागि खतरनाक हुने चेतावनी दिँदै एकदिन नेताको बचाउ गर्ने क्रममा राष्ट्रको पक्ष नै छोडिएको महसुस हुनसक्ने बताइन् ।
नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै माफी नआएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ । कांग्रेस सांसद अभिषेकप्रताप शाहले प्रधानमन्त्रीले आफ्नो भनाइ तत्काल फिर्ता लिनुपर्ने माग गरे ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक रहेको जिकिर गरे । ‘यदि तयारीबिनै यस्तो अभिव्यक्ति आएको हो भने त्यो चिन्ताजनक छ । यदि सोचेर बोलिएको भए झन् खतरनाक संकेत हो,’ शाहले भने । यो विषय राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धसँग प्रत्यक्ष रूपमा गाँसिएको उनको भनाइ छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति संसददेखि सबैतिर राजनीतिक आलोचनाको विषय बनेको छ । राष्ट्रिय बहसको विषय नै बनेको छ । दलहरूले प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टीकरण, अभिव्यक्ति फिर्ता र माफीको माग गरिरहेका छन् ।

























