
काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दर्दनाक घटनामध्ये एक मानिएको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज (मंगलबार) २५ वर्ष पूरा भएको छ ।
२०५८ साल जेठ १९ गते शुक्रबार राति राजदरबारभित्र भएको गोलीकाण्डले सिंगो देशलाई स्तब्ध बनाएको थियो । त्यो रात नेपाली जनताले आफ्ना राजा मात्रै गुमाएनन्, देशको राजनीतिक इतिहासले पनि नयाँ मोड लियो ।
राजपरिवारको नियमित पारिवारिक जमघटका क्रममा भएको घटनामा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत राजपरिवारका धेरै सदस्यको ज्यान गएको थियो । त्यतिबेला दरबारभित्र के भयो भन्ने विषयमा अनेक चर्चा र अनुमान गरिए पनि वास्तविकता आजसम्म पूर्ण रूपमा खुल्न सकेको छैन ।
घटनापछि सरकारले तत्कालीन प्रधान न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले मदिरा तथा लागुऔषध सेवनपछि परिवारका सदस्यहरूमाथि गोली चलाएको र अन्ततः आफैंलाई पनि गोली हानेको निष्कर्ष निकालिएको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।
तर, प्रतिवेदन सार्वजनिक भएलगत्तै त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्न थाले । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा यति ठूलो घटना कसरी सम्भव भयो भन्ने प्रश्न आज पनि नेपाली समाजमा जीवित छ । धेरैले सरकारी प्रतिवेदनलाई अपूर्ण र अविश्वसनीय भन्दै आएका छन् । घटनास्थलको विस्तृत अनुसन्धान सार्वजनिक नहुनु, प्रत्यक्षदर्शीहरूको सीमित विवरण र विभिन्न राजनीतिक परिवर्तनका कारण यो घटना झन् रहस्यमय बन्दै गएको छ ।
दरबार हत्याकाण्डमा राजकुमार धीरेन्द्र, राजकुमारी शान्ति, राजकुमारी शारदा, राजकुमारी जयन्ती र कुमार खड्गलगायतको पनि मृत्यु भएको थियो । त्यो रातले नेपाली जनताको मानसपटलमा गहिरो चोट छाडेको छ। अहिले पनि जेठ १९ आउँदा धेरै नेपाली त्यस घटनालाई सम्झेर भावुक हुने गर्छन् ।
राजा वीरेन्द्रलाई तुलनात्मक रूपमा उदार र जनमुखी राजाको रूपमा हेरिन्थ्यो । उनको निधनपछि राजा ज्ञानेन्द्र शाह राजगद्दीमा बसे । तर, त्यसपछिका राजनीतिक घटनाक्रमले राजसंस्थाप्रति जनविश्वास क्रमशः कमजोर बन्दै गयो । ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि राजनीतिक दलहरू र नागरिक आन्दोलन थप आक्रामक बने । अन्ततः २०६२–६३ को दोस्रो जनआन्दोलनपछि नेपाल गणतन्त्रतर्फ अघि बढ्यो ।
दरबार हत्याकाण्ड भएको सात वर्षपछि अर्थात् २०६५ साल जेठ १५ गते संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । त्यससँगै २४० वर्ष पुरानो राजतन्त्र औपचारिक रूपमा अन्त्य भयो र ज्ञानेन्द्र शाह नेपालको अन्तिम राजा बने ।
दरबार हत्याकाण्ड पुनःछानबिनको माग समय–समयमा उठ्दै आएको छ । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले पनि एकपटक दरबार हत्याकाण्डको नयाँ ढंगले अनुसन्धान हुनुपर्ने बताएका थिए । तर, त्यो बहस राजनीतिक अभिव्यक्तिमै सीमित रह्यो । आजसम्म कुनै स्वतन्त्र वा विस्तृत पुनःअनुसन्धान हुन सकेको छैन ।
२५ वर्ष बितिसक्दा पनि नारायणहिटी दरबार हत्याकाण्डका अनेक प्रश्न अनुत्तरित नै छन् । नेपाली इतिहासको यो अध्यायलाई अझै पनि रहस्य, पीडा र जिज्ञासासँग जोडिएको घटनाका रूपमा स्मरण गरिन्छ ।

























