यस्ता छन् मन्त्रिपरिषद्का चारवटा निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १३:४३
शिक्षामन्त्री

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । बैठकमा सुरक्षा निकायको बढुवा, अन्तर्राष्ट्रिय सम्झौताको स्वीकृति, आयोग प्रतिवेदन कार्यान्वयनसम्बन्धी अध्ययन अवधि थप तथा भूमि समस्या समाधान समितिमा नयाँ नियुक्तिसहित चार मुख्य निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । सुरक्षा संरचना भित्रको वरिष्ठ तहमा गरिएको यस बढुवासँगै सशस्त्र प्रहरीको नेतृत्व संरचनामा नयाँ जिम्मेवारी थपिएको छ ।

Advertisement

बैठकले वातावरणीय क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यसँग सम्बन्धित महत्वपूर्ण सम्झौता पनि स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसँग सम्बन्धित सम्झौता स्वीकृत गर्ने निर्णय गरिएको हो । यस सम्झौतामार्फत वातावरणलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको सरकारको भनाइ छ ।

त्यस्तै, २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रका विषयमा अध्ययन गरी आवश्यक सिफारिस गर्न गठन गरिएको अध्ययन समितिको कार्यावधि थप गरिएको छ । सरकारका अनुसार समितिलाई थप ४५ दिन समय दिइएको छ । जसले प्रतिवेदनमा उठाइएका विषयहरूको विस्तृत अध्ययन गरी सुझाव तयार गर्नेछ ।

यसैगरी, भूमि समस्या समाधानसम्बन्धी समितिमा नयाँ पदाधिकारीहरूको नियुक्ति पनि गरिएको छ । निर्णयअनुसार समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गरिएको छ । सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मनिति सोतिल र काठमाडौंकी डा. रोहना श्रेष्ठलाई नियुक्त गरिएको छ ।

समितिले भूमि सम्बन्धी दीर्घकालीन समस्या समाधानका लागि नीति तथा सिफारिस तयार गर्ने छ । सरकारले प्रशासनिक पुनर्संरचना, वातावरणीय प्रतिबद्धता र सुरक्षा तथा भूमि व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.