नेपाल एयरलाइन्सका कर्मचारी विमानस्थलबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार ११:४७
विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका कर्मचारी विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी मूल्यको विभिन्न देशका मुद्रासहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा ग्राउन्ड इक्विपमेन्ट अपरेटर (जिइओ) को रूपमा कार्यरत ५० वर्षीय कमलनारायण विश्वास रहेका छन् । सुनसरीको गढी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका विश्वासलाई विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार विश्वास बाटिक एयरको उडान नम्बर ओडी–१८१ मार्फत मलेसियाको क्वालालम्पुर जान लागेका थिए । प्रस्थान कक्षको सुरक्षा जाँचका क्रममा शंका लागेर उनको शरीर तथा सामान खानतलासी गर्दा उनले लगाएको कालो रंगको लोन्जन (भित्री वस्त्र) भित्र लुकाइराखेको अवस्थामा ठुलो परिमाणमा विदेशी मुद्रा फेला परेको थियो ।

प्रहरीले उनको साथबाट अमेरिकी डलर, ओमानी रियाल, पाकिस्तानी रुपैयाँ, मलेसियन रिङ्गिट, श्रीलंकाली रुपैयाँ, जापानी येन, पश्चिम अफ्रिकी फ्राङ्क र नेपाली रुपैयाँ बरामद गरेको छ । बरामद गरिएका सबै मुद्राको कुल नेपाली मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा विश्वासले यसअघि पनि पटक पटक अवैध रूपमा मुद्रा ओसारपसार गर्ने गरेको तथ्य खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार उनले यसअघि १६ पटकसम्म विभिन्न समयमा विदेशी मुद्रा बोकेर विदेश यात्रा गरेको विवरण फेला परेको छ ।

विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारी नै अवैध मुद्रा तस्करीमा संलग्न भेटिनुले सुरक्षा व्यवस्थामाथि चुनौती थपेको छ । पक्राउ परेका विश्वासमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.