
काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज (शुक्रबार) विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम गरेर मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानअनुसार प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित दिवस सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना र प्रकृतिमैत्री विकास प्रवर्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न दिवस विशेष रूपमा मनाउन लागिएको बताए । कार्यक्रममा सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहनेछ ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अपनाएर वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, प्राकृतिक सम्पदाको संरक्षण तथा जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकासमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माणमा जुट्न सबैमा आह्वान गरेका छन् । उनले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्वसमुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा, बाढीपहिरो तथा वातावरणीय असन्तुलनका असर स्पष्ट रूपमा देखिन थालेको बताएका छन् ।

























