
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ ठकठकेस्थित एउटा ग्वाली घरमा आगलागी हुँदा एक जना वृद्ध गम्भीर घाइते भएका छन् । आगोले जलेर पशु चौपाया मरेका छन् ।
प्रहरीका अनुसार ७५ वर्षीय मीनानाथ भट्टराईको गाई गोरु राख्ने ग्वाली घरमा बिहीबार साँझ ६ः३० बजेतिर आगलागी भएको थियो । आगो नियन्त्रणमा लिने क्रममा शरीरका विभिन्न भागमा जलेर भट्टराई गम्भीर घाइते भएका छन् । आगोेले पोलेर घाइते भएका उनको उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचार भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार टिनको छानो र इँट्टाको गाह्रो भएको ग्वालीको चुलोमा खोले पकाउने क्रममा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । आगो छिट्टै फैलिँदा गाई गोठ जलेर खरानी भएको छ ।
प्रहरी, स्थानीय र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगोले जलेर गाईको एउटा बाछा र एउटा खसी मरेका छन् । एक माउ गाईको पछाडिको भाग जलेको छ । गोठ छेउमा रहेको परालको कुनिउ पनि जलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























