
काठमाडौं । नेपालमा अहिले उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) बिहान कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाले कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । तराईका केही स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । गर्मी बढ्ने भएकाले दिउँसोको समयमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
शनिबार राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ । मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
रातको समयमा पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।



















