
पाँचथर । पूर्वी पहाडी जिल्लालाई तराईसँग छोटो दूरीमा जोड्ने तमोर करिडोर र मध्यपहाडी लोकमार्गका खोलाहरूमा बनाइएका अस्थायी डाइभर्सन बाढीले बारम्बार बगाउँदा यातायात सेवा प्रभावित भएको छ ।
वर्षासँगैको बाढीले खोलामा पानीको बहाव बढ्ने र अस्थायी संरचना नटिक्ने हुँदा यात्रुहरू निरन्तर सास्ती भोग्न बाध्य भएका छन् । तमोर करिडोरअन्तर्गत फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेँवा खोला तथा पाँचथर–धनकुटा सीमामा पर्ने नावा खोलामा निर्माण गरिएका डाइभर्सनहरू पटकपटक बाढीले बगाउँदै आएको छ ।
केही ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारीसाधन वारपार गर्न नसक्ने अवस्था सिर्जना हुने गरेको छ । दुई पांग्रे सवारीसाधनलाई स्थानीयले झोलुंगे पुलबाट तार्ने गरेका छन् । अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाटै वारपार गर्न बाध्य छन् ।
स्थानीयका अनुसार खोलामा पानीको बहाव एकैछिनमा बढ्ने भएकाले अवस्था अत्यन्त जोखिमपूर्ण हुन्छ । तुम्बेवा गाउँपालिका–२ का स्थानीय राजकुमार देवानले भने, ‘जोखिम मोलेर सवारीसाधन पार गर्ने गरिएको छ । डाइभर्सन कहिले बग्छ भन्ने टुंगो नै हुँदैन । बनेको पनि बारम्बार बाढीले बगाइरहेको छ ।’
यस मार्ग हुँदै ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौँ सवारीसाधन तथा ढुवानीका साधन दैनिक रूपमा आवतजावत गर्छन् । तर, डाइभर्सन टिक्न नसक्दा यात्रा बारम्बार अवरुद्ध हुने गरेको छ । यसले छोटो दूरीको सडक प्रयोगमा समस्या ल्याइरहेको स्थानीयको भनाइ छ ।
हेँवा खोलाको माझीटार क्षेत्रमा पनि उस्तै समस्या छ । मुहान ठूलो भएकाले वर्षा भइरहँदा बाढी निरन्तर आउने र डाइभर्सन बगाउने गरेको स्थानीय बताउँछन् । यस वर्ष चैतदेखि नै यातायात अवरुद्ध हुन थालेको हिलिहाङ–७ का स्थानीय रामकुमार माझीले बताए । उनका अनुसार पहिले असारसम्म डाइभर्सन टिक्ने भए पनि अहिले चैतदेखि नै समस्या सुरु भएको छ ।
डाइभर्सन बग्दा यात्रुहरू लामो वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् । तमोर करिडोर अवरुद्ध भएपछि ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरकबाट तराईतर्फ जाने सवारीसाधन मेची राजमार्ग हुँदै फिदिम–शिवादोभान घुमेर जानुपर्ने अवस्था छ ।
निर्माण पक्षको ढिलासुस्तीले समस्या झनै बढाएको स्थानीयको गुनासो छ । हिलिहाङ गाउँपालिका–५ का वीरेन्द्र मंग्रातीले भने, ‘एक पटक बाढीले बगाएपछि लामो समयसम्म मर्मत नहुँदा सडकको उपयोग नै हुन सकेको छैन ।’
यस्तै, समस्या मध्यपहाडी लोकमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा पनि देखिएको छ । तीन वर्षअघि बाढीले पुल बगाएपछि डाइभर्सनको भरमा यातायात चलाइँदै आएको छ । तर, यहाँ पनि बाढीले पटकपटक डाइभर्सन बगाउने गरेको छ । यस वर्ष जेठ ८ गते आएको बाढीले पनि डाइभर्सन बगाएको थियो ।
याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार खोलाको बहाव घटेपछि मात्र डाइभर्सन बनाउने गरिएको छ । तर, बारम्बार बाढीले बगाउने समस्या रोकिएको छैन । उनले भने, ‘जति पटक बनायो, त्यति नै पटक बगाइरहेको छ ।’
स्थानीय तह र आयोजना कार्यालयले पुल निर्माणलाई छिटो सम्पन्न गर्नुपर्ने माग बढ्दै गएको छ । याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बाढी पहिरोको जोखिम बढ्दै गएपछि स्थानीय चिन्तित रहेको बताए ।
यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले अवरुद्ध सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । तर, स्थायी समाधान नहुँदासम्म अस्थायी डाइभर्सनमा भर पर्नुपर्ने बाध्यता कायम नै रहने देखिन्छ । बारम्बार बाढीले डाइभर्सन बगाउँदा पूर्वी पहाडको यातायात प्रणाली मात्र नभएर दैनिक जीवन र आपूर्ति व्यवस्थामा समेत असर परिरहेको छ ।

























