
काठमाडौं । देशभर मौसमको मिश्रित प्रभाव देखिएको छ । पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायु सक्रिय हुँदा आज (आइतबार) हिमाली तथा पहाडी क्षेत्रमा बदली र वर्षाको अवस्था बनेको हो भने तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अधिकांश पहाडी तथा हिमाली भू–भागको मौसममा बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदलीसहित मौसम तुलनात्मक रूपमा खुला रहेको महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो कोशी प्रदेश र देशका हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । मधेश प्रदेशबाहेकका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतः सफा रहनेछ ।
महाशाखाले कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावनासमेत औंल्याइएको छ ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको छ । मौसमविद्ले अत्यधिक गर्मी महसुस हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली कायम रहने अनुमान छ । बागमती, गण्डकी र मधेश प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
तराईका अधिकांश क्षेत्रमा भने मौसम खुला रहनेछ । महाशाखाले मौसमसम्बन्धी अद्यावधिक विवरण नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

























