
काठमाडौं । विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी आज (आइतबार) विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । प्रत्येक वर्ष जुन ७ मा यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेपछि सन् २०१९ देखि नियमित रूपमा यो दिवस मनाउन थालिएको हो । दिवसको समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले संयुक्त रूपमा गर्दै आएका छन्।
असुरक्षित तथा दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करोडौं मानिस विभिन्न रोगको सिकार भइरहेका छन् । खाद्यजन्य रोगबाट हुने बिरामी र मृत्युदर बढ्दो चुनौतीका रूपमा देखिन थालेपछि खाद्य सुरक्षाको विषय विश्वव्यापी चासोको केन्द्र बनेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार दूषित खाना र पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थले मानिसमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गरेका छन् । यस्ता कारण विश्वभर वार्षिक करिब ६० करोड मानिस बिरामी पर्ने र चार लाख २० हजार जनाको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । विशेषगरी बालबालिका, महिला, वृद्धवृद्धा तथा कमजोर समुदाय खाद्यजन्य रोगबाट बढी प्रभावित हुने गरेका छन् ।
डब्ल्युएचओले पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको सबैभन्दा ठूलो भार वहन गरिरहेको जनाएको छ । विश्वभर हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु यस्ता रोगका कारण हुने गरेको बताइएको छ । पर्याप्त पोषणयुक्त र सुरक्षित खाद्यवस्तुमा पहुँच नहुँदा मानव स्वास्थ्यमा दीर्घकालीन असर पर्ने विज्ञहरूको भनाइ छ ।
विज्ञहरूका अनुसार खाद्य सुरक्षा उपभोगसँग मात्र सम्बन्धित विषय नभएर उत्पादनदेखि उपभोक्तासम्म पुग्ने सम्पूर्ण प्रक्रियासँग जोडिएको हुन्छ । कृषि उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी, बजार व्यवस्थापन तथा उपभोगका हरेक चरणमा मापदण्ड पालना गरिए खाद्यजन्य रोगको जोखिम कम गर्न सकिने उनीहरुको सुझाव छ ।
खाद्य सुरक्षाका लागि स्वच्छ खानेपानी, सुरक्षित उत्पादन प्रणाली, असल कृषि अभ्यास, प्रभावकारी अनुगमन तथा उपभोक्ता सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक तथा उपभोक्ताबीचको सहकार्यबाट मात्र सुरक्षित खाद्य प्रणाली निर्माण गर्न सकिने उनीहरूको भनाइ छ ।
‘खाद्य सुरक्षा सबैको सरोकार’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले सुरक्षित खाद्यवस्तु र जनस्वास्थ्यबीचको सम्बन्धलाई स्पष्ट पार्छ । साथै, स्वस्थ जीवन र दिगो विकासका लागि सुरक्षित खाद्यवस्तुको सुनिश्चितता अपरिहार्य रहेको सन्देश दिवसले दिने गरेको छ ।



















