
काठमाडौं । पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
पछिल्लो तथ्यांकले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक संख्या अझै बढी हुन सक्ने आशंका गरिएको छ।
स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि भएको छ । तीमध्ये १०१ जनाको मृत्यु भइसकेको र १९ जना निको भएका छन् । यो विवरण सोमबार सार्वजनिक पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो ।
यसअघि प्रकोप घोषणा भएको केही हप्तामै संक्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूको भनाइ छ । त्यही कारण रोग नियन्त्रण र रोकथामका प्रयासहरू थप जटिल बनेका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाबाट आक्रोशित प्रतिक्रिया, स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना तथा सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको छ।
विशेषज्ञहरूले सङ्क्रमणको वास्तविक सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी हुन सक्ने चेतावनी दिएका छन्।
यो पछिल्लो प्रकोप दुर्लभ बुन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो । यो प्रकारको भाइरस कंगोमा पहिले देखिने जाइर प्रकारभन्दा फरक हो । जाइर प्रकारका लागि खोप र उपचार उपलब्ध रहेको छ ।
तर बुन्डिबुग्यो प्रकारका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध नभएकाले रोकथाम र नियन्त्रण कार्य अझै कठिन बनेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।



















