धरानमा गुञ्जिँदैछन् ९० को दशकका चर्चित गीत

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १२:०९

धरान । धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० को दशकका चर्चित गीत फेरि गुञ्जिने भएका छन्। उक्त दशकमा धरानबाट उदाएका ब्यान्ड तथा कलाकारका लोकप्रिय गीत समेटेर विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा असोज १० गते धरानस्थित भिन्टेज बार एन्ड क्लबमा ‘नाइन्टिज धरानेज लाइभ कन्सर्ट’ आयोजना हुने आयोजकका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए।

Advertisement

कार्यक्रममा ९० को दशकमा धरानको सांगीतिक क्षेत्रमा सक्रिय सञ्जीव लामा (मिक्स मेलोडी ब्यान्ड), मनोज मोते (जेलर्स ब्यान्ड), दिलु राई (ओझेल ब्यान्ड) र रोहित मास्केको प्रस्तुति रहनेछ।

कार्यक्रममा उनीहरूसँग सम्बन्धित ‘बिर्सिएका यादहरूले’, ‘सम्झनाहरूलाई अंगाल्दै’, ‘घुम्दै आउनु धरान बजार’, ‘टाढा जाने प्रियसी’, ‘हाम्रो जीवन’, ‘माछी पर्यो माझीको जालैमा’, ‘उमेरले’, ‘मेरी मायालु’ र ‘चिसो चिसो’ लगायतका गीत प्रत्यक्ष प्रस्तुत गरिने आयोजकले जनाएको छ।

९० को दशक धरानको सांगीतिक क्षेत्रमा सिर्जनात्मक र सक्रिय समयका रूपमा स्मरण गरिन्छ। त्यसबेला धरानबाट थुप्रै कलाकार तथा ब्यान्डले नेपाली संगीतमा आफ्नो पहिचान बनाएका थिए। सोही पुस्ताका प्रतिनिधि कलाकारका सिर्जना एउटै मञ्चमा प्रस्तुत गर्दै पुरानो सांगीतिक पुस्ता र नयाँ पुस्तालाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार कन्सर्टपछि पूर्वका विभिन्न सहरमा पनि ९० को दशकका गीत, कलाकार र ब्यान्डलाई केन्द्रमा राखेर सांगीतिक टुर गर्ने तयारी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×