
काठमाडौं । देशका विभिन्न प्रदेशमा सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्न थालेपछि मौसमविद्ले मेघगर्जन, चट्याङ र वर्षासँग सम्बन्धित जोखिमबाट जोगिन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल लुम्बिनी, कर्णाली, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । उनका अनुसार वर्षा गराउने प्रणाली क्रमशः पूर्वी भूभागतर्फ सर्दै गएको छ ।
लामिछानेले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिए । यही प्रभावका कारण देशका विभिन्न स्थानमा स्थानीय अवस्थाअनुसार बादल विकसित भई वर्षा भइरहेको उनले बताए । काठमाडौं उपत्यकामा भने केही समयपछि मौसम क्रमशः खुल्ने सम्भावना रहेको उनको भनाइ छ ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ । त्यस्तै, मधेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।
पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेश, बागमती र गण्डकीका तराई भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ । मौसमविद्ले वर्षा, चट्याङ र खराब मौसमका कारण हुन सक्ने सम्भावित क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

























