
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज (बुधबार) देशका सातै प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न स्थानमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । मुलुकका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
महाशाखाले दिउँसो विशेषगरी कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने तापक्रम बढ्ने भएकाले तातो दिनको अनुभूति हुन सक्ने महाशाखाले जनाएको छ । रातको समयमा पनि मौसम पूर्ण रूपमा सुधार नहुने देखिएको छ ।
देशभर सामान्य बदली रहने अनुमान गरिएको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशसहित सबै प्रदेशका हिमाली भू–भाग तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ ।
महाशाखाले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसमको पूर्व जानकारी लिएर मात्रै यात्रा तय गर्न पनि आग्रह गरिएको छ ।

























