
काठमाडौं । बर्दियामा नक्कली सरकारी कार्यालय खाेलेर ठगी गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मा रहेको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नामबाट कार्यालय सञ्चालन गरिएको थियो । उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति गरिदिने, काममा लगाइदिने तथा मजदुरी गराउने नाममा ठगी गरिएको आरोप छ ।
अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न मजदुरी काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको प्रहरीले जनाएको छ । साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम भुक्तानी नगरेको आरोप समेत लागेको छ ।
सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपितले आफैं सरकारी कागजात तथा छाप तयार गरी हस्ताक्षर र नियुक्तिपत्रमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

























