पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार ०६:१८

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न भू–भागमा आज (शुक्रबार) वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदलीको अवस्था छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने अनुमान गरिएको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ ।

मधेश प्रदेशलगायत तराई क्षेत्रहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । रातको समयमा कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै, मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थान तथा देशका हिमाली भू–भागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद्हरूले वर्षा हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.