घरमाथि वरको रुख ढलेको १५ दिन भयो, हटाउन नसक्दा समस्या

मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ जेष्ठ २९, शुक्रबार १८:१५

रंगेली । मोरङको सुनवर्षी नगरपालिका–५ रमनपुरमा हावाहुरीका कारण घरमाथि वरको रुख ढलेको १५ दिन भइसकेको छ । करिब ५० वर्ष पुरानो वरको रुख १५ दिन बितिसक्दा पनि हटाउन नसक्दा पीडित परिवार समस्यामा परेको छ ।

विजयकुमार दासको घरको छानोमा वरको रुख ढलेको हो । उनका अनुसार रुख घरको छानामाथि खसेपछि छानो क्षतिग्रस्त भएको छ । वर्षात्का बेला पानी चुहिन थालेको छ । उनले वडा कार्यालय र नगरपालिकालाई जानकारी गराए पनि हालसम्म समस्या समाधानका लागि कुनै ठोस पहल नभएको गुनासो गरे ।

Advertisement

‘यदि रुख सार्वजनिक बाटोमा खसेको भए तत्काल हटाएर बाटो खुलाइन्थ्यो होला । तर, मेरो घरमा खसेपछि अहिलेसम्म कसैले वास्ता गरेको छैन । मसँग हटाउन सक्ने सामर्थ्य भएन । मेरो परिवार समस्यामा परिसक्यो,’ दासले भने । घटनाका बारेमा प्रतिक्रिया दिँदै मेयर श्याम राजवंशीले आफूलाई यो विषय शुक्रबार मात्रै जानकारी भएको बताए ।

उनका अनुसार सार्वजनिक सडक वा सरकारी संरचनामा रुख ढलेको भए नगरपालिका आफैंले हटाउने जिम्मेवारी लिने भए पनि निजी घरमा ढलेको अवस्थामा सम्बन्धित घरधनीले पहल गर्नुपर्ने व्यवस्था रहेको छ । यद्यपि, नगर प्रमुख राजवंशीले जनप्रतिनिधिमार्फत आवश्यक समन्वय गरेर रुख हटाउन पहल गरिने बताए । उनले भने, ‘सानोतिनो कुरा सबै नगरपालिकाले मात्रै गर्न सम्भव हुँदैन । यो कुरा सबैले बुझ्नुपर्छ ।’

स्थानीय भालेश्वरप्रसाद दासले भने आफूले नगर प्रमुखलाई फोन गरेर समस्या जानकारी गराउँदा जनताको घरमा परेको रुख भएकाले सम्बन्धित पक्षले नै व्यवस्थापन गर्नुपर्ने जवाफ पाएको बताए । घरमाथि ढलेको विशाल वरको रुखका कारण परिवार त्रास र असुविधाबीच बस्न बाध्य भएको छ । वर्षायाम सुरु भइसकेकाले तत्काल रुख हटाएर क्षतिग्रस्त छानो मर्मतमा सहयोग गर्न सबै पक्षसँग पीडित परिवारले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.